Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

बेनीमा सम्पर्कविहीन दुई युवाको अवस्था अझै अज्ञात


भदौ १७ गते, बेनी । म्याग्दीको बेनीमा शनिबार रातिदेखि सम्पर्कविहीन भएका दुई युवाको अवस्था अझै पत्ता लागेको छैन । रघुगंगा गाउँपालिका–२ भगवती घर भई जिल्ला शिक्षा विकास तथा समन्वय इकाईमा कार्यरत कुमार रिजाल र बेनी नगरपालिका–६ जामुनाखर्कका हरिप्रसाद रिजाल शनिबार राति करिब ११ बजेदेखि हराएका हुन् ।

दुवै जना बेनीको बैंक रोडस्थित एक होटलमा खाना खाएपछि मोटरसाइकलमा निस्किएको देखिएको भए पनि त्यसपछि उनीहरू कोठामा नपुगेको र मोबाइल फोन पनि स्विच अफ भएपछि आफन्तले खोजतलासका लागि प्रहरीमा निवेदन दिएका हुन् ।

प्रहरीका अनुसार, होटलबाट निस्किएर रिजालद्वय मोटरसाइकलमा रिङरोडतर्फ गएको दृश्य बजार क्षेत्रका सिसी क्यामेरामा रेकर्ड भएको छ । तर सो समयमा कालीपुलमा रहेको क्यामेरामा उनीहरू नदेखिएकोले कालीगण्डकी नदीमा दुर्घटनामा परेको हुनसक्ने अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी प्रहरी निरीक्षक सागर पौडेलले जानकारी दिनुभयो ।

“सो समय लगातार वर्षा भइरहेको थियो र मोटरसाइकलको गति पनि तीव्र देखिन्छ । नियन्त्रण गुमाउँदा नदीतर्फ खसेको आशंका छ,” पौडेलले बताउनुभयो ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र आफन्तहरूको टोलीले सोमबार दिनभर कालीगण्डकी नदी किनारमा खोजी गरे पनि अहिलेसम्म दुवै जना तथा उनीहरू सवार मोटरसाइकल पत्ता लाग्न सकेको छैन । रातको समयमा प्रत्यक्षदर्शी नभएको र सिसी क्यामेरा पनि सीमित क्षेत्रमा मात्रै रहेकाले खोजी कार्य कठिन भएको प्रहरीले जनाएको छ ।

रिजालद्वयका आफन्तले यदि कुनै कारणले मोबाइल अफ गरेर बसिरहेको भए छिट्टै सम्पर्कमा आउन आग्रह गरेका छन् । तर दुर्घटनाको सम्भावना उच्च भएकाले कालीगण्डकी नदीमा खोजी कार्यलाई निरन्तरता दिनुपर्ने परिवारले जोड दिएको छ ।



Top Post Ad

post bottom ads

Ads Bottom