Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

नेपालले टी–२० अभ्यास सिरिज ३-२ को अन्तरले जित्यो


भदौ १६ गते, गुवाहटी (भारत) । नेपालले आसाम प्रदेश क्रिकेट सङ्घविरुद्धको पाँच खेलको टी–२० अभ्यास सिरिज जित्न सफल भएको छ । सोमबार भएको अन्तिम तथा निर्णायक खेलमा नेपालले घरेलु टोली आसामलाई ४४ रनले पराजित गर्दै सिरिज ३–२ ले आफ्नो पक्षमा पार्न सफल भएको हो ।

अन्तिम खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा २०८ रन बनाएको थियो । नेपालका लागि सन्दीप जोराले ६४ रनको शानदार पारी खेले भने शुभ कंसाकारले ४१ र इशान पाण्डेले ३२ रनको योगदान दिए । आसामका आयुष्मान मलाकार र अभिनव चौधरीले दुई–दुई विकेट लिए ।

जवाफमा २०९ रनको लक्ष्य पछ्याएको आसाम २० ओभरमा नौ विकेटको क्षतिमा १६४ रनमा सीमित भयो । आसामका लागि भार्गव लहकरले सर्वाधिक अविजित २९ रन बनाए भने साहिल जेन र कप्तान सुमित घडिअन्करले समान २५–२५ रन जोडे । नेपालका शेर मल्ल, आकाश चन्द र पवन सर्राफले दुई–दुई विकेट लिन सफल भए भने बसिर अहमदले एक विकेट लिए ।

यसअघि सिरिजको पहिलो खेलमा नेपाल १५ रनले र दोस्रो खेलमा ९६ रनले विजयी भएको थियो । तेस्रो खेलमा नेपाल नौ रनले र चौथो खेलमा १८ रनले पराजित भएको थियो । निर्णायक बनेको पाँचौँ खेलमा उत्कृष्ट प्रदर्शन गर्दै नेपालले सिरिज उपाधि आफ्नो पक्षमा पारेको हो ।



Top Post Ad

post bottom ads

Ads Bottom