पश्चिम नवलपरासीको परासी कारागारबाट ठूलो संख्यामा कैदीबन्दी फरार भएका छन्। कारागार प्रशासनका अनुसार बिहान १० बजेदेखि १२ बजेसम्मको बीचमा करिब ५७६ कैदीमध्ये पाँच सयभन्दा बढीले एकैसाथ गेट भत्काएर भागेका हुन्।
कारागारका कर्मचारी किरण अर्यालले जनाएअनुसार ‘जेनजी आन्दोलन’बारे रेडियोमा प्रसारित समाचार सुनेपछि कैदीहरू बिहानैदेखि तोडफोडमा उत्रिएका थिए। स्थिति नियन्त्रणबाहिर जाँदा सुरक्षाका लागि सशस्त्र प्रहरी र नेपाली सेनाको बल समेत परिचालन गरिएको थियो।
तर आक्रोशित कैदीबन्दी एकजुट भएर बाहिर निस्कँदा सुरक्षाकर्मीले रोक्न सकेनन्। अश्रुग्याँस प्रयोग गरिएको भए पनि गोली चलाइएको छैन।
कारागारमा बसिरहने मनस्थितिमा रहेका थोरै कैदीबन्दी बाहेक अधिकांश फरार भइसकेको पुष्टि गरिएको छ। हाल भागेका कैदीबन्दीलाई पक्राउ गर्न सुरक्षाकर्मीहरूले खोजी तथा तलासी अभियान सुरु गरेका छन्।





 
 
 
 
 
 
 
 
 
 
 
 Posts
Posts
 
