Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

भारतद्वारा नेपाल–भारत सीमाको जमुनाहा नाका बन्द




भदौ २५ गते। जेनजी आन्दोलनका कारण नेपालमा बिग्रँदै गएको सुरक्षापरिस्थितिलाई आधार बनाउँदै भारतले नेपाल–भारत सीमाको जमुनाहा नाका बन्द गरेको छ। यसअघि कडाइपूर्वक जाँचपड़ताल गर्दै आएको भारतीय सुरक्षा निकायले स्थिति थप गम्भीर भएको ठहर गर्दै नाका पूर्णरूपमा बन्द गरेको जनाएको छ।

बुधबार बिहानैदेखि नाकामा सर्वसाधारणको आवागमन रोकिएको छ। भारतको रुपैडिहास्थित प्रहरी थानाध्यक्ष रमेशसिंह रावतका अनुसार बिरामी, एम्बुलेन्स र आपतकालीन अवस्थामा रहेका नेपाली नागरिकलाई मात्रै प्रवेश अनुमति दिइएको छ। उनले भारतबाट नेपाल फर्किन चाहने नेपालीलाई भने अवस्थाअनुसार प्रवेश गराइएको भए पनि भारतीय नागरिकलाई नेपाल छिर्न नदिइएको बताए।

मङ्गलबारदेखि नै सीमामा एसएसबी र भारतीय प्रहरीले कठोर चेकजाँच गरिरहेका थिए। त्यसको केही समयमै नाका बन्द गरिएको घोषणा गर्दै ठूलो संख्यामा अतिरिक्त सुरक्षाकर्मी खटाइएको हो।

उता, मङ्गलबार दिउँसो प्रदर्शनकारीहरूले जमुनाहास्थित प्रहरी चौकी र भन्सार यात्रु शाखामा आगजनी तथा तोडफोड गरेपछि त्यहाँका सुरक्षाकर्मीहरू पछि हटेका थिए। तर बुधबार बिहान पुनः उनीहरू नाकामा फर्किएर सुरक्षा जिम्मेवारी सम्हाल्न थालेका छन्। स्थानीयका अनुसार रातभर सीमाक्षेत्रमा नेपाली सुरक्षाकर्मीहरूको उपस्थिति देखिएको थिएन।

हाल नेपाली सेनाले सुरक्षा कमान्ड लिएको कारण सीमाक्षेत्रसहित नेपालगन्ज बजार क्रमशः सामान्य अवस्थामा फर्कँदै गएको बताइएको छ।

Top Post Ad

post bottom ads

Ads Bottom