Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

टोपबहादुर रायमाझी, पूर्वगृह सचिव पाण्डेसहित हालसम्म ११ हजार ५०५ जना कैदी फरार

भदौ २६ गते ।

मुलुकमा सृजित विषम परिस्थितिको अनुचित फाइदा उठाउँदै देशका विभिन्न स्थानमा रहेका कारागार तोडेर कैदीबन्दी भगाउने र फरार हुने क्रम बढेको छ । जेनजी पुस्ताको शान्तिपूर्ण प्रदर्शनलाई हिंसात्मक बनाउँदै मुलुकमा अकल्पनीय जनधनको क्षति गरिएसँगै कमजोर सुरक्षा व्यवस्थाको मौका छोपी विभिन्न अपराधमा संलग्न कैदी नै फरार भएपछि समाजमा भय सिर्जना भएको छ । 


कारागार व्यवस्था विभागका अनुसार काठमाडौँको सुन्धारास्थित केन्द्रीय कारागार (जगन्नाथदेवल) तोडफोड गरी पूर्वमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृह सचिव टेकनारायण पाण्डेसहित तीन हजार ४५० कैदी फरार भएका छन् । कारागार व्यवस्था विभागका महानिर्देशक लीला शर्माका अनुसार हालसम्म कम्तीमा ११ हजार ५०५ जना कैदीबन्दी विभिन्न जेल तोडेर फरार भएका छन् । राजधानीको केन्द्र सुन्धाराबाट सबैभन्दा बढी कैदी फरार भएका हुन् । 


त्यसै गरी गम्भीर प्रकृतिको अपराधमा संलग्न हुने कैदी राखिने सुनसरीको झुम्का कारागारबाट मात्र एक हजार ५७२ जना फरार भएका छन् । मङ्गलबार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने कारागारबाट बाहिरिएपछि नख्खु कारागारमा रहेका अन्य एक हजार २७२ जना कैदी जेल तोडेर फरार भएका थिए । उनीहरू फरार भएको सूचना बाहिरिएपछि अन्य कारागार तोडफोड गर्ने क्रम बढेको हो ।


सुरक्षाका कारण देखाउँदै मङ्गलबार कारागार प्रशासनले रवि लामिछानेलाई उहाँकी पत्नी निकिता पौडेलको जिम्मा लगाइएको थियो । यो घटनापछि अन्य कैदीले जेल नै फोडेर भागे । त्यसपछि उत्पन्न अवस्थालाई सुरक्षा निकायले नियन्त्रणमा लिन नसक्दा ठुलो सङ्ख्यामा कैदीहरू कारागारबाट भाग्न सफल भएका हुन् । त्यहाँ केही महिलासहितका कैदीबन्दी स्वेच्छाले बसेकाबाहेक सबै कैदीबन्दी फरार रहेको प्रहरीले जनाएको छ ।


मङ्गलबार राति १० बजेदेखि नेपाली सेना सुरक्षार्थ खटिई बुधबार बिहानैदेखि कफ्र्यु लगाइए पनि दिउँसो डिल्लीबजारस्थित कारागारमा कैदीबन्दीले गेट तोडेर भाग्ने प्रयास गरे । केही भागिसकेका कैदीबन्दीलाई समेत तत्काल सेनाले नियन्त्रणमा लिई कारागारमै फिर्ता ग¥यो ।  

Top Post Ad

post bottom ads

Ads Bottom