भदौ १७, काठमाडौं। पर्यटन विभागले सगरमाथासहित विभिन्न हिमाल आरोहणका लागि नयाँ शुल्क लागू गरेको छ। विभागका अनुसार सोमबारदेखि पर्वतारोहणसम्बन्धी (छैटौँ संशोधन) नियमावली, २०५९ अनुसार तोकिएको नयाँ शुल्कअनुसार अनुमति पत्र लिनुपर्ने भएको छ।
विभागका निर्देशक हिमाल गौतमले एक दशकपछि शुल्क दर संशोधन भएको बताउँदै यसले राजस्व बढाउने वा भीड नियन्त्रण गर्ने उद्देश्य नभई आरोहणलाई व्यवस्थित बनाउने उद्देश्य रहेको जानकारी दिनुभयो। यसअघि सन् २०१५ जनवरी १ देखि लागू शुल्क दर यथावत थियो।
नयाँ शुल्क अनुसार विदेशी आरोहीले वसन्त ऋतुमा सगरमाथाको नियमित दक्षिणपूर्व मार्गबाट आरोहण गर्न १५ हजार अमेरिकी डलर तिर्नुपर्नेछ। शरद ऋतुमा ७,५०० डलर र शिशिर तथा वर्षायाममा ३,७५० डलर तोकिएको छ। यसअघि क्रमशः ५,५०० र २,५०० डलर तोकिएको थियो।
सगरमाथाको अन्य मार्गबाट वसन्त ऋतुमा १० हजार डलर, शरद ऋतुमा ५ हजार डलर तथा शिशिर/वर्षायाममा २,५०० डलर लाग्नेछ।
यस्तै, नेपाली आरोहीका लागि वसन्त ऋतुमा शुल्क १ लाख ५० हजार रुपैयाँ, शरद ऋतुमा ७५ हजार रुपैयाँ र बाँकी याममा ३५ हजार रुपैयाँ कायम गरिएको छ।




