काठमाडौँका विभिन्न कारागारबाट भागेका कैदीमध्ये थप ३५ जनालाई नेपाली सेनाले धादिङको गजुरी क्षेत्रमा नियन्त्रणमा लिएको छ। बिहीबार बिहान गजुरी चेकपोइन्टमा चेकजाँच गर्ने क्रममा उनीहरू पक्राउ परेका हुन्।
यसअघि बुधबार धादिङकै गल्छी–बैरेनीबाट तीन जना कैदी समातिएका थिए।
भैरवनाथ गण गजुरीका कर्णेल असीम श्रेष्ठका अनुसार पक्राउ पर्नेहरूमध्ये केन्द्रीय कारागारका २१ जना, नख्खु कारागारका नौ जना, भीमफेदी कारागारका चार जना र भद्र केन्द्रीय कारागारका एक जना रहेका छन्।
सेनाले बुधबारदेखि नै पृथ्वीराजमार्गका विभिन्न स्थानमा चेकजाँच कडाइ गरेको छ। सवारीसाधनदेखि पैदल यात्रु सबैलाई सोधपुछ गरी पहिचान गर्ने काम भइरहेको कर्णेल श्रेष्ठले बताए। उनका अनुसार केही कैदी गोप्य सूचनाको आधारमा फेला पारिएका हुन्।
बुधबार समातिएका तीन जनालाई प्रहरीको जिम्मा लगाइएको भए पनि बिहीबार पक्राउ परेका ३५ जनालाई भने हाल सेनाले गजुरीस्थित भैरवनाथ गणमै राखेको र उनीहरूको व्यवस्थापनका लागि नेपाल प्रहरीसँग समन्वय भइरहेको जानकारी दिइएको छ।




