भाद्र २६, गौर कारागारबाट फरार भएका १७ जना कैदीलाई भारतबाट फर्काइएर रौतहट प्रहरीको जिम्मा लगाइएको छ। दुई दिन अघि भारतीय सीमा सुरक्षा बलले विभिन्न स्थानमा फेला पारी पक्राउ गरेका ती कैदीलाई कानुनी प्रक्रिया पूरा गरेपछि बैरगनिया थानामार्फत रौतहट प्रहरीलाई बुझाइएको हो।
गत मङ्गलबार ‘जेनजी आन्दोलन’का कारण सुरक्षाकर्मीहरू अन्यत्र व्यस्त भएको मौका छोप्दै कैदीहरूले कारागारको ताल्चा तोडी योजनाबद्ध ढङ्गले फरार भएका थिए। उनीहरू मध्ये केही भारततर्फ पुगेका थिए।
रौतहटका प्रमुख जिल्ला अधिकारी विनोद खडकाले फरार कैदीलाई भारतीय पक्षले औपचारिक रूपमा हस्तान्तरण गरेको जानकारी दिँदै अझै सम्पर्कमा नआएकाहरूसमेत आत्मसमर्पण गर्न आग्रह गरेका छन्।
गौर कारागारमा २९१ जना कैदीमध्ये घटनाको दिन २६४ जना भागेका थिए। भागेकामध्ये तत्कालै ३५ जनालाई नेपालकै विभिन्न स्थानमा नियन्त्रणमा लिइएको थियो भने थप १७ जनालाई भारतीय प्रहरीले पक्राउ गरी फर्काएपछि अहिले कारागारमा ७९ जना मात्र बाँकी रहेका छन्।




