भदौ ३१ गते । मकवानपुर र बारा जिल्लाको सिमानास्थित चुरियामाईमा नेपाली सेना सवार ट्रक दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिनुभयो ।
सेनाको सो ट्रकमा २२ जना सवार थिए । उप सेनानी हर्ष विक्रम अधिकारीको कमान्डमा धनुषातर्फ गइरहेका चारवटा सेनाका ट्रकमध्ये लु.१ ग.२८० नं.को ट्रक पुलबाट करिब १२ फिट तल खोल्सामा खसेर दुर्घटना भएको हो ।
दुर्घटनापछि मकवानपुर र बाराबाट प्रहरी टोली खटिएको थियो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका नायब उपरीक्षक श्यामु अर्याल, जिल्ला ट्राफिक कार्यालय मकवानपुरका प्रहरी निरीक्षक, इलाका प्रहरी कार्यालय पशुपतिनगर र रातोमाटे चौकीका प्रहरी गरी २५ जना र अम्लेखगन्जबाट प्रहरी नायब निरीक्षक धनबहादुर श्रेष्ठको नेतृत्वमा गएको सात जनाको टोलीले उद्धार कार्यमा सहकार्य गरेका थिए ।
उद्धारकार्यमा नेपाली सेनाकै जवानले पनि सक्रियता देखाएका थिए । घाइते सबैलाई हेटौँडा अस्पताल, मकवानपुरमा उपचारका लागि पठाइएको छ ।




