Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

चितवनका दुई हात्ती उपहारस्वरूप कतार पठाइने

चितवन, भदौ १७ । चितवन राष्ट्रिय निकुञ्जमा जन्मिएका दुई हात्तीलाई नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरूप पठाउने तयारी गरेको छ। सौराहास्थित हात्ती प्रजनन तथा तालिम केन्द्र, खोरसोरमा हुर्केका सात वर्षीया रुद्रकली र छ वर्षीया खगेन्द्रप्रसादलाई मङ्सिर महिनाभित्रै कतार लैजाने तयारी भइरहेको हो।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा. गणेश पन्तका अनुसार यसबारे नेपाल सरकारले निर्णय गरिसकेको छ। हात्ती पठाउने सम्पूर्ण तयारी राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले पूरा गरिरहेको छ।

विभागका प्रवक्ता डा. हरिभद्र आचार्यले हात्ती पठाउने कागजी प्रक्रिया अन्तिम चरणमा रहेको बताउँदै, “दसैँ–तिहारपछि मङ्सिरभित्रै पठाउने गरी तयारी भइरहेको छ। अहिले वर्षायाम भएकाले तत्काल लैजान सकिँदैन,” भन्नुभयो। उहाँका अनुसार हात्ती लैजान आवश्यक सम्पूर्ण खर्च कतार सरकारले बेहोर्नेछ।

विशेष चार्टर कार्गो विमानमार्फत गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवाबाट हात्ती पठाइनेछ। त्यसअघि सौराहाबाट ट्रकमार्फत भैरहवा लगिने योजना छ। हात्तीलाई कतारस्थित चिडियाखानामा राखिनेछ।

कतारको तातो मौसमअनुसार वातावरण अनुकूलन गर्ने जिम्मेवारी कतार सरकारकै हुने विभागले जनाएको छ। खगेन्द्रप्रसादको आमा कोशीकली र रुद्रकलीको आमा पूजाकली हुन्। दुबैको बाबु शक्तिशाली जङ्गली हात्ती रोनाल्डो हो।

यसअघि नेपालले चीनलाई उपहारस्वरूप दिएका दुई गैँडामध्ये एउटा मरेको थियो।



Top Post Ad

post bottom ads

Ads Bottom