काठमाडौं । नेपालमा भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलन र त्यस क्रममा भएको हिंसात्मक प्रदर्शनले अन्तर्राष्ट्रिय छविमा नकारात्मक असर पारेको छ। आन्दोलनपछि नेपालीलाई भिसा दिन खाडी मुलुक, मलेसिया र युरोपेली देशहरूले आनाकानी गर्न थालेका छन्।
नेपालको प्रमुख वैदेशिक रोजगारी गन्तव्य संयुक्त अरब इमिरेट्स (युएई) ले एक्कासि भिजिट भिसा र रोजगारी भिसा दिन रोक लगाएपछि अन्य खाडी मुलुक र मलेसियाले पनि भिसा नदिएको पाइएको छ। युएईले यसबारे नेपाललाई कुनै औपचारिक वा अनौपचारिक जानकारी नदिएको अधिकारीहरूले बताएका छन्।
मलेसिया कुनै समय नेपाली श्रमिकका लागि प्रमुख रोजगारी स्थल थियो। तर पछिल्ला वर्षहरूमा विदेशी कामदार प्रवेशमा कडाइ गरेसँगै नेपालीको संख्या घट्दै गएको छ। मलेसियास्थित नेपाली दूतावासका श्रम सहचारी कृष्णप्रसाद भुसालका अनुसार मलेसियामा विदेशी कामदार नल्याएको झन्डै दुई वर्ष हुन लागेको छ। म्यानुफ्याक्चरिङ क्षेत्र बन्द भए पनि सुरक्षा गार्ड, प्लान्टेसन, होलसेल पसललगायत केही क्षेत्रमा मात्रै सीमित रूपमा कामदार लैजाने गरिएको उनले बताए।
विशेषज्ञहरूका अनुसार भिसा रोकिँदा वैदेशिक रोजगारीमा जाने तयारीमा रहेका हजारौं नेपाली युवाको भविष्य अनिश्चित बनेको छ। साथै, देशमै रोजगारीको अवसर नबढाए ठूलो सामाजिक–आर्थिक संकट निम्तिन सक्ने चेतावनी दिइएको छ।


.png)

