Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

हमासद्वारा अपहरणमा परेका नेपाली विद्यार्थी विपिन जोशी जीवित नरहेको इस्रायली अधिकारीको पुष्टि


काठमाडौँ, असोज २७ । हमासद्वारा अपहरणमा परेका नेपाली विद्यार्थी विपिन जोशी जीवित नरहेको इस्रायली अधिकारीहरूले औपचारिक रूपमा पुष्टि गरेका छन्।

इस्रायलको रक्षा बल (आईडीएफ) का एक वरिष्ठ अधिकारीले आज बिहान (स्थानीय समय अनुसार) साढे ७ बजे भिडियो कन्फरेन्समार्फत यो जानकारी दिएका हुन्। उक्त बैठकमा इस्रायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डित, विपिनकी अमेरिकामा रहेकी बहिनी, नेपालमा रहेका दाजु किशोर जोशी, र इस्रायलका प्रधानमन्त्री कार्यालयका दुई अधिकारी सहभागी थिए।

राजदूत पण्डितका अनुसार, आईडीएफ अधिकारीले स्पष्ट रूपमा भनेका थिए — “विपिन इज नो मोर” (विपिन अब जीवित छैनन्)।

कञ्चनपुरका निवासी विपिन जोशी अध्ययनका लागि इस्रायल पुगेका थिए। २०२३ अक्टोबर ७ मा हमासले इस्रायलको किबुत्ज क्षेत्रमा गरेको आक्रमणका क्रममा उनी अन्य नेपाली विद्यार्थीहरूसँगै परेका थिए। उक्त आक्रमणमा १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो भने विपिनलाई हमास लडाकुहरूले बन्धकको रूपमा गाजातर्फ लगेका थिए।

विपिनलाई अन्तिम पटक २०२३ नोभेम्बर १७ मा गाजाको अल शिफा अस्पतालमा देखिएको थियो। त्यसपछि उनको अवस्थाबारे कुनै जानकारी नआएको हो। गत बुधबार मात्रै उनको पुरानो भिडियो फुटेज सार्वजनिक भएको थियो।

उनको अवस्थाबारे जानकारी खोज्ने उद्देश्यले नेपाल सरकारले उनकी आमा र बहिनीलाई इस्रायल पठाएको थियो। उनीहरू अहिले संयुक्त राज्य अमेरिकामा रहेका छन्।



Top Post Ad

post bottom ads

Ads Bottom