![]() |
| तस्विर : गोरखापत्र |
वालिङ नगरपालिका–७, ताप्के निवासी ताराबहादुर थापाले वालिङ नगरपालिका–६ मिर्दीस्थित पसलबाट खरिद गरेको नुनमा सुकेको अवस्थामा मरेको भ्यागुतो भेटिएको बताएका छन्।
“बुवाको श्राद्धको उम्कने दिन आफन्तहरूलाई खुवाउन भनेर ल्याएको नुन खोलेर हेर्दा भित्रै मरेको भ्यागुतो भेटियो।” उनले भने ।
उनको भनाइअनुसार, यस्तो लापरबाहीले उपभोक्ताको स्वास्थ्य नै जोखिममा पार्ने अवस्था छ। “भ्यागुतोको सट्टा अरु विषालु वस्तु परेको भए त हाम्रो ज्यान नै जान्थ्यो,” थापाले गुनासो गरे।
राष्ट्रिय उपभोक्ता मञ्च स्याङ्जाका अध्यक्ष राजेन्द्र मरासिनीले प्रशोधन गरेर बजारमा पठाइने नुनमा यस्तो वस्तु भेटिनु “सारै दुःखद र लाजमर्दो” भएको बताउँदै दोषी पक्षमाथि तत्काल कारबाही गर्न माग गरेका छन्।
“उपभोक्ताको स्वास्थ्यसँग यस्तो खेलबाड स्वीकार्य छैन। सम्बन्धित निकायले तुरुन्त अनुसन्धान गरेर जिम्मेवारलाई कारबाही गर्नुपर्छ,” मरासिनीको भनाइ छ।
जिल्ला प्रशासन कार्यालयले उक्त घटनाको विस्तृत अध्ययनका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, पोखरालाई छानबिनका लागि अनुरोध गरेको जनाएको छ।




