असोज २७, धनकुटा । कोशी लोकमार्ग अन्तर्गत धनकुटा जिल्लाको साँगुरीगढी गाउँपालिका–९ पाँचगोलाइमा सोमबार बिहान मिनि ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चालक गम्भीर घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डीएसपी राजन कार्कीका अनुसार सोमबार बिहान करिब २ बजे धनकुटाबाट सब्जी लिएर धरानतर्फ जाँदै गरेको प्र–३–०१–००३ क ६९०६ नम्बरको मिनि ट्रक अनियन्त्रित भई सडकबाट करिब तीन सय मिटर तल खसेको थियो।
दुर्घटनामा परि सह–चालक उदयपुरगढी गाउँपालिका–९ कुर्कुनटार निवासी २६ वर्षीय नारायण खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ। त्यस्तै, चालक उदयपुर रानिटारका १९ वर्षीय दिनेश क्षेत्री गम्भीर घाइते भएका छन्।
घटनापछि प्रहरी चौकी मुलघाटबाट प्रहरी निरीक्षक टंकबहादुर कटवालको नेतृत्वमा पुगेको प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले दुबै जनालाई उद्धार गरी जिल्ला अस्पताल धनकुटा पुर्याएको थियो। अस्पताल पुगेपछि सह–चालक खड्कालाई बिहान करिब ५ बजे चिकित्सकले मृत घोषित गरेका थिए।
गम्भीर घाइते चालक क्षेत्री अहिले प्रहरीको निगरानीमा जिल्ला अस्पताल धनकुटामा उपचाररत छन्। मृतक खड्काको शव पोस्टमार्टमका लागि अस्पतालको शवगृहमा राखिएको छ।
प्रहरीका अनुसार दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ।




