मङ्सिर ५ गते ।
पूर्वी नाका काँकरभिट्टाबाट चालु आर्थिक वर्ष २०८२/८३ का पहिलो चार महिनामा रु. ४० करोड ४४ लाख ४५ हजार बराबरको फलफूल आयात भएको छ। स्याउ, केरा, सुन्तला, आँप लगायतका फलफूल यिनै चार महिनामा ठूलो परिमाणमा भित्रिएको मेची भन्सार कार्यालयले जनाएको छ।
गत वर्षको तुलनामा दोब्बरभन्दा बढी आयात
अघिल्लो आर्थिक वर्ष २०८१/८२ का सोही अवधिमा काँकरभिट्टाबाट रु. २१ करोड ३५ लाख ५० हजार बराबरको मात्र फलफूल आयात भएको थियो।
सूचना अधिकारी ईश्वरकुमार हुमागाईंका अनुसार यस वर्ष रु. १९ करोड ८९ लाख ५ हजारले आयात वृद्धि भएको छ।
नेपालले भारत, बंगलादेश, थाइल्यान्ड, अष्ट्रेलिया, मलेसिया, दक्षिण अफ्रिका, चीन, फिलिपिन्स, अमेरिका र कोरिया लगायतका मुलुकबाट फलफूल आयात गर्छ। काँकरभिट्टा नाका हुँदै नेपालमा आयात हुने मुख्य १० वस्तुमध्ये फलफूल पाँचौँ स्थानमा परेको छ।
चालु आव २०८२/८३ को कात्तिक महिनामा भने भन्सार राजस्व लक्ष्य पूरा हुन नसकेको भन्सार कार्यालयले जनाएको छ।
कार्यालयका अनुसार कात्तिकमा रु. १ अर्ब ६३ करोड ९४ लाख ६१ हजार राजस्व सङ्कलन लक्ष्य थियो, तर सो अवधिमा रु. १ अर्ब ३० करोड ८१ लाख ८९ हजार मात्र राजस्व सङ्कलन भयो।
भन्सार कार्यालयका सूचना अधिकारी हुमागाईंका अनुसार लक्ष्यभन्दा कम राजस्व जुट्नु आयात घट्नु तथा बजारको समग्र व्यापारिक गतिविधि सुस्त हुनुका कारण हुन सक्छ।






