कात्तिक १७,
पूर्वी नवलपरासी — नारायणगढ–बुटवल सडकखण्ड अन्तर्गत दाउन्ने क्षेत्रमा सडक अवरुद्ध हुँदा करिब ८ किलोमिटरसम्म सवारीसाधनको लामो जाम लागेको छ। लगातारको वर्षा पछि सडक हिलो र चिप्लो भएपछि गत शुक्रबारदेखि सो खण्डमा यातायात आवागमन अनियमित बन्दै आएको छ।
पानी परेसँगै बाटो चिप्लो र फोहोर भएपछि दाउन्नेको उकालोमा सवारीसाधन उक्लिन नसक्दा लामो जाम लागेको हो। पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–२ अन्तर्गतको दाउन्ने खण्डमा बाटो सहज नहुँदा यात्रुहरूले ठूलो असुविधा खेप्नुपरेको छ।
जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका अनुसार साधुरो बाटोमा सवारीसाधन बिग्रिएर रोकिँदा र बाटो चिप्लो हुँदा यातायात सञ्चालनमा कठिनाइ भइरहेको छ। हाल दुवैतर्फका सवारीसाधनहरू जाममा परेका छन् र बाटो एकतर्फी मात्र सञ्चालनमा रहेको प्रहरीले जनाएको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका वरिष्ठ नायब निरीक्षक विनोद जोशीका अनुसार हाल दाउन्नेको बाउन्नदेखि चौसठ्ठी मोठसम्म करिब ८ किलोमिटर दूरीमा सवारीसाधनको लामो लाइन लागेको छ। यात्रुहरू घण्टौँसम्म बाटोमै अल्झिनु परेको बताइएको छ।




