उदयपुर, कात्तिक — उदयपुरको चौदण्डीगढी नगरपालिकास्थित बेल्टार इलाका प्रहरी कार्यालयको गस्ती टोलीले प्रतिबन्धित लागूऔषध मलद्वारमार्गबाट ल्याउँदै गरेका दुई जनालाई पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको टोलीले चौदण्डीगढी नगरपालिका–४, हातिसार पैतालिस चोकमा पैदल हिँडिरहेका दुई जनालाई शंका लागेपछि चेकजाँच गर्दा घटनाको खुलासा भएको हो। प्रहरीका अनुसार, दुवैजनालाई नगर अस्पताल चौदण्डीगढीमा लगेर गरिएको X-ray परीक्षणमा उनीहरूले मलद्वारमा लागूऔषध फ्रिजिङ गरी लुकाएको पाइएको थियो।
प्रहरीले पक्राउ परेकामध्ये चौदण्डीगढी–७ का २४ वर्षीय पर्शुराम तिमल्सिनाको शरीरबाट १५ एम्पुल, र सोही नगरपालिकाका वडा नं. ६ का २३ वर्षीय बिकि भन्ने बिबेक राईको शरीरबाट १८ एम्पुल, गरी जम्मा ३३ एम्पुल प्रतिबन्धित लागूऔषध बरामद गरेको जनाएको छ।
अस्पतालका चिकित्सकको सहयोगमा उक्त लागूऔषध सुरक्षित रूपमा निकालिएको र दुवैजनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।




