काबुल — अफगानिस्तानको हिन्दकुश क्षेत्रमा शनिबार बिहान ६.३ म्याग्निट्युडको शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूवैज्ञानिक सर्वेक्षण (USGS) का अनुसार भूकम्पको केन्द्र मजार–ए–शरीफ नजिकको खोल्म क्षेत्रमा रहेको थियो।
करिब २८ किलोमिटर गहिराइमा केन्द्रित उक्त भूकम्पको धक्का राजधानी काबुलसहित आसपासका धेरै क्षेत्रमा महसुस गरिएको जनाइएको छ। प्रारम्भिक विवरणअनुसार कम्तीमा चार जनाको मृत्यु भएको अफगान अधिकारीहरूले पुष्टि गरेका छन्।
भूकम्पको कम्पन छिमेकी मुलुकहरू ताजिकिस्तान, उज्बेकिस्तान र तुर्कमेनिस्तानसम्म महसुस गरिएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ।
USGS ले सम्भावित आर्थिक र मानवीय क्षतिको उच्च जोखिम जनाउँदै “ओरेन्ज अलर्ट” जारी गरेको छ।
गत दुई महिनाअघि मात्र पूर्वी अफगानिस्तानमा आएको ६ म्याग्निट्युडको भूकम्पमा दुई हजारभन्दा बढी मानिसको ज्यान गएको थियो। पछिल्ला लगातारका भूकम्पहरूले अफगानिस्तानमा त्रास बढाएको छ।




