पोखरा मङ्सिर ६ गते ।
पृथ्वीराजमार्गको पोखरा–विजयपुर खण्डमा निर्माणाधीन पुलमा ‘ग्रीडर लन्चिङ’ कार्य सुरु हुन लागेकाले मार्ग यही मङ्सिर ११ गतेसम्म दैनिक चार घण्टा बन्द हुने भएको छ। मुग्लिन–पोखरा सडक योजना पश्चिम खण्डका अनुसार शनिबारदेखि लागू हुने व्यवस्थाअनुसार बिहान ६ देखि ८ बजेसम्म र दिउँसो १२ देखि २ बजेसम्म सडक बन्द रहनेछ।
योजना प्रमुख कृष्णबहादुर कुँवरले पोखरादेखि विजयपुर हुँदै तालचोक जाने तथा सोही रुट हुँदै आउने सवारी साधनलाई पूर्ण/आंशिक रूपमा रोक्नुपर्ने भएकाले सम्बन्धित सबैलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार आवश्यक परे हरेक ३० मिनेटमा लाइन लागेका सवारी साधनलाई क्लियर गरिने व्यवस्था मिलाइनेछ।
दुई पाङ्ग्रे तथा साना सवारी साधनका लागि बुढीबजार–बेलचौतारा–चाउथे रुट वैकल्पिक रूपमा प्रयोग गर्न सकिने योजना कार्यालयले जनाएको छ। त्यस्तै ठूला सवारी साधनका लागि लेखना पावरहाउसचोक–बागमारा–बिरौट रुट दुवैतर्फ प्रयोग गर्न अनुरोध गरिएको छ।
पोखरालाई काठमाडौँसँग जोड्ने मुख्य राजमार्गको स्तरोन्नति कार्य अन्तर्गत मुग्लिन–पोखरा सडक दुई खण्डमा विभाजन गरी काम भइरहेको छ। जामुने–आँबुखैरेनी पूर्वी खण्डमा अधिकांश काम सकिएको भए पनि पोखरा–जामुने पश्चिम खण्डमा भौतिक प्रगति ५९.७६ प्रतिशत पुगेको योजना प्रमुख कुँवरले बताए।
यस पश्चिम खण्डको ३८.८८ किमीमध्ये हालसम्म ३७.४ किमीमा एकतर्फी रूपमा पहिलो तहको कालोपत्र सम्पन्न भएको छ। तीमध्ये २९.६१ किमीमा चार लेन, र ७.७९ किमीमा दुई लेन कालोपत्र पूरा भएको छ। साथै १२ मध्ये ११ वटा पुल निर्माण सकिइसकेका छन् भने सेती नदीमा पर्ने एक पुल अझै निर्माणाधीन अवस्थामा रहेको योजना प्रमुखले जानकारी दिए।
राजमार्ग स्तरोन्नतिको काम तीव्र गतिमा अघि बढाइने र सवारी साधनले तोकिएको समयमा वैकल्पिक मार्ग प्रयोग गरी सहयोग पुर्याउन योजना कार्यालयले अनुरोध गरेको छ।






