![]() |
| फाइल तस्विर |
लु २ च ५१७९ नम्बरको जीप भूमिकास्थान नगरपालिका–७ छिर्लिंग खोला नजिकै मंगलबार दुर्घटनामा परेको हो। उक्त जीप भूमिकास्थान नगरपालिकाले आयोजना गरेको पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुन विद्यार्थी बोकेर जाँदै गरेको अवस्थामा दुर्घटना भएको जनाइएको छ।
दुर्घटनामा जीप चालक भूमिकास्थान नगरपालिका–१० धनचौर निवासी ४५ वर्षीय रुद्रबहादुर बुढा मगरको उपचारका क्रममा मृत्यु भएको अर्घाखाँची अस्पतालका स्वास्थ्यकर्मी अशोक चौहानले जानकारी दिनुभयो।
दुर्घटनामा घाइते भएका १६ जनाको अर्घाखाँची अस्पतालमा उपचार भइरहेको छ। घाइतेमध्ये केहीको अवस्था मध्यम रहेको बताइएको छ भने अन्यको अवस्था सामान्य रहेको अस्पताल स्रोतले जनाएको छ।
दुर्घटनापछि भूमिकास्थान नगरपालिकाले आयोजना गरेको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका सम्पूर्ण खेलकुद कार्यक्रम स्थगित गरिएको भूमिकास्थान नगरपालिकाका मेयर झविलाल थापाले जानकारी दिनुभयो। उहाँले दुर्घटनाप्रति दुःख व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ।
प्रहरीले दुर्घटनाको कारणबारे थप अनुसन्धान अघि बढाएको छ।






