
सांकेतिक तस्विर
पौष १ गते । वैदेशिक रोजगार ठगीसम्बन्धी मुद्दामा २७ वर्षदेखि फरार रहेकी एक कसूरदारलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय, स्याङ्जाबाट खटिएको विशेष अप्रेसन टोलीले सम्मानित अदालतको फैसला कार्यान्वयन गर्ने क्रममा स्याङ्जाको पुतलीबजार नगरपालिका–९ बस्ने ७० वर्षीया कृष्णकुमारी गुरुङलाई पक्राउ गरेको हो ।
गुरुङविरुद्ध वैदेशिक रोजगार ठगी मुद्दामा विसं २०५५ साल जेठ २५ गते अदालतबाट फैसला भई रु ९९ हजार १५० जरिवाना तोकिएको थियो । लामो समयसम्म जरिवाना भुक्तान नगरी फरार रहेकी उनलाई मिति २०८२/०९/०१ गते पक्राउ गरी जरिवाना असुलका लागि स्याङ्जा जिल्ला अदालतमा उपस्थित गराइएको प्रहरीले जनाएको छ ।
अदालतको फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउँदै न्यायिक प्रक्रियालाई पूर्णता दिन तथा सुरक्षित र न्यायपूर्ण समाज निर्माणका लागि यस्ता अभियान निरन्तर जारी रहने जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।





