विराटनगर, माघ १३ गते — सुनसरी र झापाका विभिन्न स्थानबाट प्रहरीले लागू औषध ब्राउन सुगर तथा प्रतिबन्धित औषधिसहित ७ जनालाई पक्राउ गरेको छ।
माघ १२ गते सुनसरीको इटहरी–१७ मा लागू औषध नियन्त्रण ब्युरो विराटनगर र इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको संयुक्त प्रहरी टोलीले स्थानीय जैतुन खातुन, मोहमद सैफुदिन र मन्जिना खातुनलाई १० ग्राम ३५० मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको हो।
यसैगरी, चेकजाँचका क्रममा अस्थायी प्रहरी चौकी विजयपुरले धरान–१४ बाट सोही स्थानका कुन्दन पाठकलाई ट्रामाडोल ३१८ क्याप्सुल र स्पास्पेन २८९ ट्याब्लेटसहित पक्राउ गरेको जनाएको छ।
त्यस्तै, झापाको दमक नगरपालिका–५ मा विशेष सूचनाका आधारमा लागू औषध नियन्त्रण ब्युरो काँकडभिट्टा र इलाका प्रहरी कार्यालय दमकको संयुक्त टोलीले दमक–९ का निरन्जन विश्वकर्मा र अमित मगर तथा दमक–५ का मिन कुमार धिमाललाई नियन्त्रणमा लिएको छ। उनीहरूको साथबाट ट्रामाडोल ८१५ क्याप्सुल, डिकोलिक ११५ चक्की र स्पास्पेन ६०० चक्की बरामद गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेकाहरूलाई लागू औषधसम्बन्धी कसुरमा थप अनुसन्धानका लागि सम्बन्धित निकायमा राखिएको छ।






