सवारी चालक अनुमति पत्र (लाइसेन्स)को लिखित परीक्षामा भएको अनियमितता उजागर भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कडा कदम चालेको छ। लिखित परीक्षामा फेल भई नियमअनुसार पुनः परीक्षा दिनुपर्ने तीन महिने अवधि नपुगेकै अवस्थामा सहभागी भएका परीक्षार्थीहरूको उत्तरपुस्तिका अख्तियारले नियन्त्रणमा लिएको हो।
चाबहिलस्थित यातायात व्यवस्था कार्यालयका कार्यालय प्रमुखसहित केही कर्मचारी, ट्राफिक प्रहरी तथा अन्य सरोकारवालाको मिलेमतोमा ५ हजारदेखि १० हजार रुपैयाँसम्म घुस लिई फेल भएका परीक्षार्थीलाई पास गराइएको तथ्य फेला परेपछि छानबिन अघि बढाइएको हो। अनुसन्धानका क्रममा अख्तियारले परीक्षार्थीका उत्तरपुस्तिकासँगै संलग्न कर्मचारी र प्रहरीका मोबाइल फोनसमेत जफत गरेको छ।
यसै क्रममा अख्तियारले यातायात कार्यालयका १७ जना कर्मचारी तथा ट्राफिक प्रहरीको मोबाइल नियन्त्रणमा लिई थप अनुसन्धान थालेको जनाएको छ। घटनाले सवारी लाइसेन्स प्रणालीभित्र गहिरो जरा गाडेको भ्रष्टाचार र लापरवाहीलाई उजागर गरेको छ।






