काठमाडौँ, माघ १९ — स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निपाह भाइरसको विषयलाई लिएर अनावश्यक त्रास नफैलाउन सर्वसाधारणलाई आग्रह गरेको छ। मन्त्रालयले हालसम्म नेपालमा निपाह भाइरसको कुनै पनि सङ्क्रमण पुष्टि नभएको स्पष्ट पारेको छ।
मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले विज्ञप्ति जारी गर्दै नागरिकको स्वास्थ्य सुरक्षा सुनिश्चित गर्न मन्त्रालय पूर्ण रूपमा प्रतिबद्ध रहेको जनाउँदै सबैलाई आतङ्कित नहुन तर सचेत, सजग र जिम्मेवार बन्न आग्रह गर्नुभएको छ। उहाँले अफवाह र अप्रमाणित सूचनाको पछि नलागी मन्त्रालय तथा आधिकारिक निकायबाट जारी हुने जानकारीमात्रै विश्वास गर्न अनुरोध गर्नुभयो।
“हालसम्म नेपालमा निपाह भाइरसको कुनै घटना पुष्टि भएको छैन। स्वास्थ्य निकायहरू जोखिम न्यूनीकरणका लागि पूर्ण तयारी अवस्थामा छन्,” विज्ञप्तिमा उल्लेख छ। साथै, जनस्वास्थ्यका मापदण्ड अपनाएर आफू र परिवारलाई सुरक्षित राख्न पनि मन्त्रालयले अनुरोध गरेको छ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले विश्वव्यापी तथा दक्षिण–पूर्वी एसिया क्षेत्रीय स्तरमा निपाह भाइरसको जोखिम न्यून रहेको मूल्याङ्कन गरे पनि छिमेकी मुलुकहरूमा देखिएका केही घटनालाई ध्यानमा राख्दै नेपालले पूर्वतयारीका कदमहरू अघि बढाएको मन्त्रालयको भनाइ छ। यसै क्रममा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले देशभरका स्वास्थ्य संस्था तथा सम्बन्धित निकायलाई सतर्क रहन निर्देशन दिएको र निपाह भाइरसको आन्तरिक परीक्षण एल्गोरिदमसमेत तयार गरिएको प्रवक्ता डा. बुढाथोकीले जानकारी दिनुभयो।
निपाह भाइरस प्रायः सङ्क्रमित फलफूल खाने चमेरोको थुक, पिसाब वा दिसाबाट दूषित फलफूल सेवन गर्दा सर्न सक्ने बताइएको छ। साथै, सङ्क्रमित व्यक्तिको रगत, थुक, पिसाब तथा नजिकको सम्पर्कबाट पनि संक्रमण फैलिन सक्ने जोखिम रहेको मन्त्रालयले जनाएको छ।
संक्रमणबाट बच्न फलफूल राम्रोसँग पखालेर खाने, तरकारी राम्रोसँग पकाउने, सफा र सुरक्षित पानी उमालेर पिउने, जनावरका गोठ तथा फार्म सफा राख्ने, मासु काट्दा पञ्जा र मास्क प्रयोग गर्ने, साबुन पानीले हात धुने र भिडभाडमा मास्क प्रयोग गर्न मन्त्रालयले सुझाव दिएको छ।
ज्वरो आउने, टाउको दुख्ने, मांसपेशी दुख्ने, चक्कर लाग्ने, खोकी लाग्ने, सास फेर्न गाह्रो हुने, वाकवाकी वा वान्ता हुने, अचेत हुनेजस्ता शंकास्पद लक्षण देखिएमा शीघ्र पहिचान, आइसोलेसन, रिपोर्टिङ तथा संक्रमण रोकथामका मापदण्ड कडाइका साथ पालना गर्न मन्त्रालयले आग्रह गरेको छ।
कुनै पनि शंकास्पद लक्षण देखिएमा नजिकको स्वास्थ्य संस्था वा निःशुल्क फोन नम्बर १११५ मा तुरुन्त सम्पर्क गर्न स्वास्थ्य मन्त्रालयले सबैलाई अनुरोध गरेको छ।






