Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !


 

मेरिगोल्ड अङ्ग्रेजी आवासीय मा.वि.मा खुला भजन प्रतियोगिता सम्पन्न


पोखरा १५ नयाँगाउँमा अवस्थित मेरिगोल्ड अङ्ग्रेजी आवासीय मा वि मा भव्य रूपमा भजन प्रतियोगिता सम्पन्न भएको छ। विद्यालयका संस्थापक निर्देशक मोतिराम गुरुङको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो।

विद्यालयको प्राङ्गणमा आयोजित प्रतियोगितामा विभिन्न सदनका विद्यार्थीहरूले सहभागिता जनाउँदै सांगीतिक तथा आध्यात्मिक प्रतिभा प्रस्तुत गरेका थिए। कार्यक्रममार्फत विद्यार्थीहरूमा धार्मिक–सांस्कृतिक चेतना अभिवृद्धि गर्नुका साथै आत्मविश्वास र समूहकार्यको भावना विकास गर्ने उद्देश्य राखिएको विद्यालय प्रशासनले जनाएको छ।

प्रतियोगितामा पहेँलो सदनबाट रोशनी सुनार, ओनिक गुरुङ, सुयोन्सी गुरुङ, सुशान्त क्षेत्री र आर्शु विकको समूह उत्कृष्ट प्रस्तुति दिँदै प्रथम स्थान हासिल गर्न सफल भयो। उनीहरूले प्रस्तुत गरेको भजनले दर्शक तथा निर्णायक मण्डलको मन जितेको थियो।

त्यस्तै निलो सदनबाट विनम थापा, गुनमाया गुरुङ, रिवाज क्षेत्री, प्रग्यान देव मल्ल र सौरव बुढा मगरको समूहले प्रभावशाली प्रस्तुति दिँदै दोस्रो स्थान प्राप्त गर्यो।

कार्यक्रमका अध्यक्ष तथा संस्थापक निर्देशक मोतिराम गुरुङले विद्यार्थीहरूको प्रतिभा र उत्साहप्रति खुसी व्यक्त गर्दै यस्ता कार्यक्रमले बालबालिकामा अनुशासन, नैतिक शिक्षा र संस्कारको विकास हुने बताउनुभयो। उहाँले विद्यालयले पाठ्यपुस्तक शिक्षासँगै अतिरिक्त क्रियाकलापलाई पनि समान महत्व दिँदै आएको उल्लेख गर्नुभयो।

त्यसैगरी विद्यालयकी प्राचार्य शर्मिला गुरुङले भजन प्रतियोगिताजस्ता कार्यक्रमले विद्यार्थीहरूको लुकेको प्रतिभा प्रस्फुटन गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । उहाँले आगामी दिनमा पनि यस्ता सृजनात्मक तथा सांस्कृतिक गतिविधि निरन्तर सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

प्रतियोगिताको निर्णायकको भूमिका शिक्षिका सुशिला कार्की ले निर्वाह गरेकी थिइन्। प्रस्तुति, स्वर, तालमेल, भाव अभिव्यक्ति र मञ्च प्रस्तुतिलाई आधार मानी मूल्यांकन गरिएको थियो ।

कार्यक्रममा शिक्षक–शिक्षिका तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। उत्साहपूर्ण वातावरणमा सम्पन्न प्रतियोगिताले विद्यालय परिवारमा सकारात्मक ऊर्जा थपेको सहभागीहरूले बताएका छन्।

Top Post Ad

post bottom ads

Ads Bottom