अदालतबाट भइसकेका फैसलाको प्रभावकारी कार्यान्वयन गर्दै न्यायिक प्रक्रिया पूर्णता दिन जिल्ला प्रहरी कार्यालय स्याङ्जाले फरार कसूरदार पक्राउ अभियानलाई तीव्र बनाएको छ। सोही क्रममा मिति २०८२/११/०५ गते खटिएको विशेष अप्रेसन टोलीले विभिन्न मितिमा मुद्दा फैसला भई कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेका तीन जना फरार प्रतिवादीलाई पक्राउ गरेको हो।
पक्राउ परेका कसूरदारहरूलाई कैद भुक्तान, लगत कट्टा तथा जरिवाना असुल प्रक्रियाका लागि स्याङ्जा जिल्ला अदालतमा उपस्थित गराइएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार पक्राउ पर्नेहरू सबैलाई ‘कर्तव्य ज्यान’ मुद्दामा जनही १०–१० महिना कैद सजाय सुनाइएको थियो। पक्राउ परेका व्यक्तिहरू यसप्रकार छन्:
- जिल्ला स्याङ्जा, आधिखोला गाउँपालिका–५ बस्ने जुठे दमाई भनिने पहले दर्जी
- जिल्ला स्याङ्जा, आधिखोला गाउँपालिका–५ बस्ने गम्भिर दमाई
- जिल्ला स्याङ्जा, आधिखोला गाउँपालिका–५ बस्ने भद्रसिंह गुरुङ
उनीहरू लामो समयदेखि फरार रहँदै आएका थिए। अदालतको फैसला कार्यान्वयनलाई चुस्त, दुरुस्त र प्रभावकारी बनाउने उद्देश्यले विशेष अप्रेसन सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।
प्रहरीले न्यायिक आदेश कार्यान्वयनलाई प्राथमिकतामा राख्दै फरार अभियुक्तहरूको खोजी तथा पक्राउ कार्य निरन्तर जारी रहने स्पष्ट पारेको छ।






