Breaking Posts

Type Here to Get Search Results !

चामल बोकेका तीनवटा कन्टेनर बेपत्ता - Brighter Khabar

Top Post Ad

 अखाद्य र गुणस्तरहीन चामल बोकेर नेपालगञ्ज भन्सार कार्यालयमा पुगेका विश्व खाद्य कार्यक्रमका तीनवटा कन्टेनर डेढ महिनादेखि अलपत्र छन्। 

विश्व खाद्य कार्यक्रमले जमुनाहा नाकाबाट भित्र्याउन लागेको ५४ हजार किलो चामल गुणस्तरहीन भएको जनाउँदै भन्सार कार्यालयले रोकिदिँदा तीनवटा कन्टेनर डेढ महिनादेखि त्यहीँ अलपत्र परेका हुन्। समुद्री मार्ग हुँदै इटालीबाट ल्याइएको उक्त

चामल भारतको कोलकाताबाट तीन कन्टेनरमा नेपालगञ्जसम्म ल्याइँदै थियो। चामल लिएर गत माघ १५ गते नाकामा आइपुगेका डब्लूबी ०३ डीओ १०७, डब्लूबी ११ सी ५९६० र एनएल ०१ एडी ७१०५ नम्बरका भारतीय कन्टेनर करिब डेढ महिनादेखि नेपालगञ्ज भन्सार कार्यालयमा थन्किएका छन्।

प्रज्ञापनपत्र नम्बर २२१५ बाट ल्याइएको उक्त चामल कर्णाली र सुदूरपश्चिम प्रदेशअन्तर्गतका विद्यालयमा बालबालिकालाई दिवा खाजा खुवाउनका लागि ल्याइएको हो। कन्टेनर नाकामा पुगेपछि गुणस्तर जाँच गर्न चामलको नमुना खाद्य आयात–निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय नेपालगञ्ज पठाइएको थियो। प्रमाणीकरण कार्यालयले परीक्षण गर्दा चामल भिजेको, गन्ध आएको र खान अयोग्य रहेको प्रतिवेदन बुझाएपछि करिब डेढ महिनादेखि नाकामै रोकेर राखेको नेपालगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी डिल्लुप्रसाद शर्माले बताउनुभयो।

उहाँले गुणस्तर प्रमाणीकरण कार्यालयले चामल गुणस्तरहीन भनेर रिपोर्ट दिएपछि नियमानुसार उक्त चामल भित्रिन दिन नमिल्ने भएकाले रोकिएको बताउनुभयो।

भन्सारले चामल भित्रिन नदिएपछि कन्टेनर भन्सारमै थन्किएका छन्। विश्व खाद्य कार्यक्रमले खाद्यान्न वितरण गर्ने नाममा पटक–पटक कुहिएको खाद्यान्न वितरण गर्ने गरेको गुनासो आएको मानव अधिकारको क्षेत्रमा काम गर्ने संस्था इन्सेक लुम्बिनी प्रदेशले जनाएको छ। 

यसअघि २०७२ मा बाँकेको खजुरास्थित विश्व खाद्य कार्यक्रमको गोदाममा भण्डारण गरेर राखिएको ५१४ मेट्रिक टन दाल कुहिएको अवस्थामा फेला परेको  खबर गोरखापत्रमा छ । 

post bottom ads

Ads Bottom