Breaking Posts

Type Here to Get Search Results !

गाउँपालिका अध्यक्ष र सडक उपभोक्ता समितिबिच कुटाकुट - Brighter

Top Post Ad



बैतडी, जेठ ७ गते । सिगास गाउँपालिका अध्यक्ष र सडक उपभोक्ता समितिका पदाधिकारीबिच २० लाख ४४ हजार रुपियाँको चेकका विषयमा विवाद हुँदा कुटाकुट भएको छ। कुटपिटबाट घाइते भएका सडक उपभोक्ता समितिका अध्यक्ष अस्पताल भर्ना भएका छन्। 

सडक उपभोक्ता समितिलाई गाउँपालिकाको लेखा शाखाले उक्त रकम भुक्तानीका लागि दिइएको चेक गाउँपालिका अध्यक्षले बैङ्कलाई रोक्का गर्न निर्देशन दिएपछि कुटाकुट भएको हो। 

गाउँपालिका अध्यक्ष हरिसिंह धामीले बैङ्कमा चेक रोक्का गरेर बिहीबार कार्यालयमा बोलाएर बिनाकारण कुटपिट गरेको उपभोक्ता समितिका अध्यक्ष वीरेन्द्रसिंह धामीले बताउनुभयो। उहाँ घाइते हुनुभएको छ। चालु आर्थिक वर्षमा सिगास गाउँपालिकाले वडा नम्बर ९ को देउलेकबाट सिगास–४, वडा कार्यालयको कान्धारसम्म दुई हजार सात सय मिटर सडक खन्न उपभोक्तासँग ३९ लाख रुपियाँको योजना सम्झौता गरेको थियो। 

सो सम्झौता अनुसार निर्माण भएको सडकको प्राविधिकले नापजाँच गरेर २० लाख ४४ हजार रुपियाँ भुक्तानीका लागि चेक दिएको उपभोक्ता समितिका अध्यक्ष धामीले बताउनुभयो । “सम्झौता अनुसार कर्मचारी र लेखापालले रनिङ बिलको २० लाख ४४ हजार रुपियाँको चेक काटेर दिनुभएको हो,” समितिका अध्यक्ष धामीले भन्नुभयो।

“गाउँपालिका अध्यक्षले बैङ्कमा फोन गरेर चेक रोक्न लगाए र मलाई फिर्ता बोलाए। त्यहाँ पुग्दा ओखलसैनी खेल मैदानका अध्यक्ष जयसिंह धामी र गाउँपालिका अध्यक्ष धामीले २० ड्रम तेलको सात लाख रुपियाँ मागे। त्यसपछि तेलको पैसा दिने हो तर बैङ्कमा फोन गरेरे चेक किन रोकेको हो ? भन्नेबित्तिकै गाउँपालिका अध्यक्षले लाठी, मुक्का र लात्तीले कुटपिट गर्नुभयो। कुटपिटबाट टाउको, छाती, पाखुरा, खुट्टा र तिघ्रामा चोट लागेको छ,” समितिका अध्यक्ष धामीले घटना विवरण सुनाउँदै भन्नुभयो। 

सो घटनाका विषयमा पालिका अध्यक्ष धामीले आफूले कसैमाथि कुटपिट नगरेको बरु उल्टै सडक समितिका अध्यक्षले मदिरा सेवन गरी पालिकाका कर्मचारी र आफूमाथि दुर्व्यवहार गरेको दाबी गर्नुभयो। अध्यक्ष धामीले भन्नुभयो, “सडक उपभोक्ता समितिका अध्यक्षले एक्साभेटरले गरेको कामको किर्ते हस्ताक्षर गरेर भुक्तानी लगेको थाहा पाएपछि चेक रोक्का गरिएको हो।” गोरखापत्र 

post bottom ads

Ads Bottom