Breaking Posts

Type Here to Get Search Results !

पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप लगाइने - Brighter Khabar

Top Post Ad


भदौ २३ गते । आगामी भदौ २७ गतेदेखि १४ वर्ष उमेर पूरा भएका र १५ वर्ष ननाघेका किशोरीलाई लक्षित गर्दै पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप लगाइने भएको छ ।

स्वास्थ्य सेवा विभागले पाठेघरको मुखको क्यान्सर रोगको रोकथाम गर्न यो रोगविरुद्धको २० हजार मात्रा एचपीभी  खोप लगाउन लागेको जानकारी दिएको हो । 

विभागअन्तर्गत बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा.अभियान गौतमले हाल उपलब्ध भएको एचपीभी खोप ६ महिनाको अन्तरालमा दुई मात्रा लगाउनुपर्ने बताउनुभयो ।

उहाँले एचपीभी खोप दुई मात्रा पूरा गरेमा लक्षित गरेको प्रजातिबाट हुने सङ्क्रमणबाट ९५ प्रतिशतसम्म सुरक्षा प्रदान गरिने जानकारी दिनुभयो । यो खोप यौनसम्पर्क हुने उमेरभन्दा पहिले नै दिएमा बढी प्रभावकारी हुने विभिन्न अध्ययनले देखाएको छ । 

पहिलो मात्रा खोप लगाउँदा उमेर खुल्ने आधिकारिक प्रमाण, दोस्रो मात्राको हकमा पहिलो मात्रा लगाएको खोप कार्ड आवश्यक पर्ने बताउनुभयो ।

साधारणतया एचपीभी खोप लगाएपछि खोप लगाएको ठाउँमा दुख्ने वा सुन्निने, टाउको दुख्ने, वाकवाकी लाग्ने, थकान महसुस हुने, रिँगटा लाग्ने, ज्वरो आउने, एलर्जी रियाक्सन हुने भए  पनि यी असरहरु सामान्य मात्रै भएको उहाँको भनाइ छ । 

निकट भविष्यमा १० देखि १४ वर्षसम्मका सबै किशोरीलाई खोप लगाउने गरी राष्ट्रिय स्तरको नियमित खोप कार्यक्रममा समावेश गरी नियमित खोप चल्ने स्वास्थ्य संस्थाबाट उपलब्ध गराइने जानकारी दिनुभयो । 

एच.पि.भिले महिलाहरुको पाठेघरको मुखको क्यान्सरको साथै यौनाङ्गमा आउने मुसा तथा यौनाङ्गको क्यान्सरसमेत गराउन सक्ने बताउनुभयो ।

उहाँले पाठेघरको मुखको क्यान्सरको सुरुको अवस्थामा धेरै जसोमा लक्षण नदेखिए पनि अन्तिम अवस्थामा मात्र पहिचान हुनसक्ने बताउनुभयो । सङ्क्रमण हुँदा पछि गएर तल्लो पेट दुख्ने, अनियमित रुपमा रगत बग्ने, धेरै रगत बग्ने, गन्हाउने पानी बग्ने, कमजोर हुँदै जाने र रक्त अल्पता जस्ता लक्षणहरु देखिने जानकारी दिनुभयो । 

एचपिभी मुख्यतः सङ्क्रमित व्यक्तिसँगको यौनसम्पर्कबाट सर्ने र यो सङ्क्रमित व्यक्तिको यौनाङ्गको छाला श्लेष्म झिल्ली वा तरल पदार्थसँगको सम्पर्कमार्फत पनि सर्नसक्ने डा.गौतमको भनाइ छ ।

एचपीभी खोप सेवा उपलब्ध हुने अस्पतालहरूमा कोशी प्रदेशमा कोशी अस्पताल विराटनगर,  मधेस प्रदेशमा नारायणी अस्पताल वीरगञ्ज, परोपकार प्रसुति तथा स्त्रीरोग अस्पताल, गण्डकी स्वास्थ्यविज्ञान प्रतिष्ठान पोखरा, लुम्बिनी प्रदेशमा भेरी अस्पताल नेपालगञ्ज, कर्णाली प्रदेशमा प्रदेश अस्पताल वीरेन्द्रनगर र सुदूरपश्चिम प्रदेशमा डडेलधुरा अस्पताल डडेलधुरा छन् । 

खोपको शुभारम्भ परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथलीबाट स्वास्थ्य तथा जनजङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले गर्ने कार्यक्रम तय भएको छ ।

post bottom ads

Ads Bottom