जेठ २२, महोत्तरीको बलवा नगरपालिका वडा नं ९ धमौरास्थित श्री राष्ट्रिय प्राथमिक विद्यालयमा कार्यरत शिक्षक अशोक कुमार साहविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्रको आरोपपत्र दायर भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार अनुदान राहत कोटामा कार्यरत शिक्षक साहले कामेश्वर सिंह दरभंगा संस्कृत विश्वविद्यालय, कामेश्वर दरभंगा, बिहार, भारतबाट नवीन उत्तर मध्यमा तह उत्तीर्ण गरेको नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी २०६९ कात्तिक २५ गतेदेखि नियुक्ति लिई ओहोदा, लाभ र सुविधा प्राप्त गरेको देखिएको छ।
भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद र जरिवाना सजाय हुन मागदाबी लिई मंगलबार विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर भएको आयोगले जनाएको छ।





