असार २८, राष्ट्रपति रामचन्द्र पौडेलले बहुमतको सरकार गठनका लागि आह्वान गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल पदमुक्त भएपछि संविधानको धारा ७६ (२) बमोजिम २०८१ असार ३० गते आइतबार साँझ ५ बजेसम्मको समय दिएर राष्ट्रपति पौडेलले बहुमतको सरकार गठनका लागि आह्वान गरेका हुन् ।
राष्ट्रपति पौडेलले संविधानविद्हरुसमेतको परामर्शमा संविधानको धारा ७६ (२) बमोजिमकै सरकार गठनका लागि आह्वान गरेका हुन् । संविधानको धारा ७६ (२) मा राष्ट्रपतिले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने व्यवस्था छ ।
शुक्रबार प्रधानमन्त्री दाहालले विश्वासको मत माग्दै राखेको प्रस्ताव प्रतिनिधिसभाबाट अस्वीकृत भएपछि संसद् सचिवालयले दाहालले विश्वासको मत लिन नसकेको जानकारी राष्ट्रपति कार्यालयलाई गराएको थियो ।




