माघ ५, लमजुङको बेँसीशहर नगरपालिका–७ स्थित मयुम खोला पुलमा शनिबार बेलुका अटो दुर्घटना हुँदा चार जना घाइते भएका छन्। बेँसीशहरबाट मकैडाँडातर्फ जाँदै गरेको लु.प्र. ०१–००१-ह-१७३८ नम्बरको अटो अनियन्त्रित भई सडकबाट झण्डै पाँच मिटर तल खसेको थियो।
दुर्घटनामा अटो चालक र तीन यात्रु घाइते जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ । प्रहरीका अनुसार बेँसीशहर नगपालिका-७ निवासी ४५ वर्षीय चालक भरत सुयालको टाउकोमा गम्भीर चोट लागेका कारण थप उपचारका लागि भरतपुर रेफर गरिएको छ।
अन्य घाइते यात्रुहरूमध्ये चितवन भरतपुर महानगरपालिका–११ की २७ वर्षीया शोभा खातीको बायाँ हात र घुँडामा सामान्य चोट लागेको छ। शोभाकी ५ वर्षीया छोरी सेजल खातीको छातीमा भित्री चोट लागेको भए पनि अवस्था सामान्य रहेको र बेँसीशहर नगरपालिका–७ की ६० वर्षीया चिनमाया परियारको बायाँ हात र घुँडामा चोट लागेको छ।
उनीहरूको स्थानीय मोडल अस्पतालमा उपचार हुँदै गरेको प्रहरीले जनाएको छ।


.png)


