चैत १३ गते, दैलेख – दैलेखमा विद्युतीय गाडी दुर्घटनामा परी चार जना विद्यार्थी घाइते भएका छन्। कर्णाली प्रदेश ०२–००१ ज ०६२१ नम्बरको गाडी दैलेख सदरमुकामबाट आठबीस नगरपालिकातर्फ जाँदै गर्दा दुर्घटनाग्रस्त भएको हो।
दुर्घटना भैरवी गाउँपालिका–२, रावतकोटस्थित गालुगाउँ चौतारा नजिक तीव्र गतिका कारण भएको प्रत्यक्षदर्शीले बताएका छन्। दुर्घटनामा परी ठाँटिकाँध गाउँपालिका–५ का १८ वर्षीय हिक्मत शाही, १८ वर्षीया जलधरा शाही, १८ वर्षीया शर्मिला विश्वकर्मा र आठबीस नगरपालिका–८ का १८ वर्षीय बहुविर शाही घाइते भएका छन्।
उनीहरू विज्ञान विषयको पुरक परीक्षा सकेर घर फर्कंदै थिए। दुर्घटनापछि स्थानीयवासीले तत्काल उद्धार गरी भैरवी गाउँपालिकाको गाडीमार्फत घाइतेहरूलाई दैलेख अस्पताल पुर्याएका थिए।
उपचारपछि हिक्मत शाहीलाई डिस्चार्ज गरिएको छ भने अन्य तीन जनालाई थप उपचारका लागि प्रदेश अस्पताल सुर्खेत रेफर गरिएको छ।
गाडी सडकबाट झण्डै १०–१५ मिटर तल खसेको थियो। घटनापछि चालक फरार रहेका छन्, जसको खोजी कार्य जारी रहेको दैलेखका प्रहरी प्रमुख डिएसपी सुनिल दाहालले जानकारी दिएका छन्।





