स्याङ्जा, फागुन २१ – जवरजस्ती करणी मुद्धामा फरार रहेका पुतलीबजार नगरपालिका वडा नं. १४ का प्रतिवादी विष्णु गिरीलाई प्रहरीले पक्राउ गरेको छ। सम्मानित कास्की जिल्ला अदालतबाट २०८१ साल माघ २ गते पक्राउ अनुमती प्राप्त भई प्रतिवादीको खोजतलास भइरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो।
५१ वर्षीय गिरी घटनापश्चात् फरार रहेका थिए। कास्की जिल्ला प्रहरी कार्यालयको माघ १३ गतेको पत्रअनुसार खोजी भइरहेको अवस्थामा फागुन २० गते निजको घर वतनबाटै प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेपछि उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीको जिम्मा लगाइएको छ।
प्रहरीका अनुसार, जवरजस्ती करणी मुद्धामा ६ दिन म्याद थप अनुमती प्राप्त गरी थप अनुसन्धान प्रक्रिया अघि बढाइएको छ। अनुसन्धानको क्रममा गिरी नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का गण्डकी प्रदेश उपाध्यक्ष तथा स्याङ्जा जिल्ला अध्यक्ष रहेको खुलेको छ।
प्रहरीले यस घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ।




