Breaking Posts

Type Here to Get Search Results !

चीनको सुन, भारतीय बजारको माग र नेपाल ट्रान्जिट : सुन तस्करीका लागि २५ करोड - Brighter Network

Top Post Ad


चैत ६ – चीनसँगको सीमावर्ती क्षेत्रमा लैजान लागिएको २५ करोडभन्दा बढी मूल्य बराबरको विदेशी मुद्रा काठमाडौँमै बरामद भएपछि सुन तस्करीमा संलग्न गिरोह पुनः सक्रिय भएको संकेत देखिएको छ।

उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नारायणी प्रदेश–७ ख १६५२ नम्बरको ट्रकमा ‘फल्स बटम’ बनाई लुकाइएको अवस्थामा २५ करोड १९ लाख २४ हजार ९५० रुपैयाँ बराबरको विदेशी मुद्रा बरामद गरेको हो। सिन्धुपाल्चोकका ३९ वर्षीय कुसाङ लामा सो मुद्रासहित पक्राउ परेका छन्।

पक्राउ परेका दिन नै नेपाल प्रहरीमा दीपक थापा प्रहरी महानिरीक्षकका रूपमा नियुक्त भएका थिए। प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार, विदेशी मुद्रा ओसारपसार भइरहेको सूचनाको आधारमा सोमबार राति ११ बजे झोर क्षेत्रबाट लामालाई पक्राउ गरिएको हो।

जाँचका क्रममा ट्रकको बनावटमा लुकाइएको अदृश्य डिब्बा (फल्स बटम) भित्र विदेशी मुद्रा फेला परेको थियो। प्रहरीले बताएको अनुसार सो मुद्रा चीनको केरुङतर्फ लैजान तयारी भइरहेको थियो।

सुन तस्करीको आशंका

नेपाल प्रहरीका पूर्व डिआईजी तथा केन्द्रीय अनुसन्धान ब्युरो (CIB) का पूर्वप्रमुख हेमन्त मल्ल ठकुरीका अनुसार, यो परिमाणको विदेशी मुद्रा नेपालमै फेला पर्नु सुन तस्करीमा संलग्न गिरोह पुनः सक्रिय भएको स्पष्ट संकेत हो।

उनी भन्छन्, “यो रकम प्रायः सुनमै लगानी गर्न संकलन गरिएको हो भन्ने अनुमान गर्न गाह्रो छैन। यसमा भारत, नेपाल र चीनका गिरोहको संलग्नता देखिन्छ।” उनका अनुसार भारतमा सुनको माग उच्च भए तापनि त्यहाँ सरकारबाट उपलब्ध हुने सुनको मात्रा सीमित भएकाले बाह्य स्रोतबाट सुन भित्र्याउने प्रयास हुँदै आएको छ।

नेपाल र बङ्गलादेश हुँदै भारतमा सुन भित्र्याउने मार्ग प्रयोग हुने गरेको र नेपालमा तस्करहरूको प्रभाव बढ्दै गएको अनुमान उनले गरेका छन्।

स्थानीय माग कम भए पनि चलखेल बढ्दो

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका संस्थापक अध्यक्ष तथा सल्लाहकार मणिरत्न शाक्यका अनुसार, हाल नेपाली बजारमा सुनको माग उच्च छैन। तर, यति ठूलो परिमाणको विदेशी मुद्रा बरामद हुनु गम्भीर चिन्ताको विषय भएको उनको भनाइ छ।

अभियुक्तको तस्करी इतिहास

पक्राउ परेका कुसाङ लामा २०७३ पुस १३ गते पनि राजस्व छली गर्दै सात किलो सुनसहित पक्राउ परेका थिए। उनी पाँच वर्षको कैद सजाय भुक्तान गरेर रिहा भएका थिए।

पुनः पक्राउ परेका लामासँग फेला परेको विदेशी मुद्रा पनि चीनतर्फ सुन खरिदका लागि लैजान लागिएको हुन सक्ने प्रारम्भिक अनुसन्धानबाट देखिएको छ। यसबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। 

post bottom ads

Ads Bottom