![]() |
| फाइल तस्विर |
बाँके, चैत १० – बाँकेको डडुवा गाउँपालिका–२ स्थित बेतहनी चोकमा आइतबार दिउँसो एक दर्दनाक सडक दुर्घटनामा दुई बालकको ज्यान गएको छ। पानी बोक्ने ट्यांकरको ठक्करबाट ८ वर्षीय विशाल गोदिया र ९ वर्षीय शिउकुमार गोदियाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी यमबहादुर मल्लले जानकारी दिनुभयो।
भे १ ख ४१०७ नम्बरको ट्यांकरले ती बालकहरूलाई ठक्कर दिएको थियो। उनीहरू घर नजिकै खेलिरहेका बेला अचानक ट्यांकरले ठक्कर दिएको प्रत्यक्षदर्शीले बताए। घटनापछि क्षेत्र तनावग्रस्त बनेको छ।
आक्रोशित स्थानीयवासीहरूले ट्यांकरमा आगजनी गरेका छन् भने प्रहरी चौकीमा समेत ढुंगामुढा भएको छ। स्थानीय प्रदर्शन अझै रोकिएको छैन।
डिएसपी मल्लका अनुसार, दुर्घटनापछि भाग्न खोजेका ट्यांकर चालकलाई प्रहरीले तत्काल नियन्त्रणमा लिएको छ। यद्यपि स्थानीयले दोषीलाई कडा कारबाहीको माग गर्दै विरोध प्रदर्शन जारी राखेका छन्।
प्रहरीले घटनास्थलको अवस्था नियन्त्रणमा लिन प्रयास गरिरहेको छ भने थप अप्रिय स्थिति नहोस् भन्नका लागि सुरक्षाकर्मी परिचालन गरिएको जनाएको छ।





