पोखरा – देशमा हाल पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान महाशाखाले जनाएको छ। यसका कारण पहाडी क्षेत्रमा आंशिक बदली रहँदा अन्य स्थानमा मौसम सफा रहेको छ।
महाशाखाका अनुसार, आज दिउँसो देशका पहाडी भागहरूमा आंशिक बदली रहनेछ भने बाँकी भूभागमा मौसम सफा रहनेछ। कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुन सक्नेछ। साथै, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको छ।
आज राति कोशी, गण्डकी, र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ भने अन्य स्थानमा मौसम खुला रहनेछ।
आगामी २४ घण्टामा कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाका साथै उच्च पहाडी तथा हिमाली भागमा हल्का हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।
महाशाखाले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई उड्डयन क्षेत्रमा आंशिक असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।





