चैत १५, दुर्गा प्रसाईं नेतृत्वमा राजसंस्था पुनर्स्थापनाका लागि भन्दै शुक्रबार तीनकुने क्षेत्रमा भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लाग्दा एकजनाको मृत्यु भएको छ भने अर्का एकजना सञ्चारकर्मीको आगजनीका कारण ज्यान गएको छ। दुईजना गम्भीर घाइते छन्, जसको अवस्था चिन्ताजनक रहेको र उनीहरूको उपचार वीर अस्पतालमा भइरहेको छ।
प्रहरी स्रोतका अनुसार कीर्तिपुरका सविन महर्जनको प्रहरीको गोली लागेर मृत्यु भएको हो। त्यस्तै, एभिन्यूज टेलिभिजनका फोटो पत्रकार सुरेश रजक भवनको छतबाट दृश्य कैद गर्ने क्रममा आगजनीमा परेका थिए। सो भवनमा राजावादी समर्थक प्रदर्शनकारीले आगो लगाएका थिए, जसका कारण उनी जिउँदै जलेका हुन्।
गम्भीर घाइतेमध्ये भोजपुरका डिल्लीप्रसाद लुइँटेल र शुम्भु दमाइलाई गोली लागेको छ। लुइँटेलको पेटको दायाँ भागमा र दमाइको दायाँ कुममा गोली लागेको प्रहरीले जनाएको छ। उनीहरूको वीर अस्पतालमा उपचार भइरहेको छ।





