Breaking Posts

Type Here to Get Search Results !

एसईई परीक्षा अनुशासन उल्लंघन गर्ने सहायक केन्द्राध्यक्षसहित चार निरीक्षक हटाइए - Brighter Network

Top Post Ad


वीरगन्ज, चैत १० — माध्यमिक शिक्षा परीक्षा (एसईई) का क्रममा परीक्षाको मर्यादा विपरीत कार्यमा संलग्न भेटिएका सहायक केन्द्राध्यक्षसहित चार जना निरीक्षकहरूलाई जिम्मेवारीबाट हटाइएको छ। पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको अध्यक्षतामा शनिबार साँझ बसेको परीक्षा समन्वय समितिको बैठकले अनुशासनहीन गतिविधिमा संलग्न शिक्षक र कर्मचारीहरूमाथि कडाइ गरेको हो।


प्रजिअ अर्यालले माइस्थान विद्यापिठ माध्यमिक विद्यालय, वीरगन्ज का केन्द्राध्यक्ष मुनिलाल कर्णलाई परीक्षाको मर्यादा र अनुशासन पालनामा आवश्यक सतर्कता नअपनाएको भन्दै सचेत गराउने निर्णय गरिएको जानकारी दिनुभयो।


यही केन्द्रका सहायक केन्द्राध्यक्ष जयप्रकाश सर्राफको गतिविधि संकास्पद देखिएकाले उनीलाई परीक्षा अवधिभर केन्द्र प्रवेशमा रोक लगाउने निर्णय भएको छ।


अनधिकृत प्रवेश, प्रश्नपत्रको गम्भीर त्रुटि

नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, मसिहानी र नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, निचुटा परीक्षा केन्द्रहरूमा अभिभावक संघलगायत अनधिकृत व्यक्तिको प्रवेश देखिएपछि सम्बन्धित केन्द्राध्यक्षलाई लिखित ध्यानाकर्षण गराउने निर्णय गरिएको छ।


त्यसैगरी, मसिहानी केन्द्रमा खटिएका निरीक्षक लालबाबु यादवलाई परीक्षाको मर्यादाविपरीत कार्य गरेको पाइएकाले जिम्मेवारीबाट हटाउने निर्णय गरिएको छ।


सिद्धार्थ माध्यमिक विद्यालय, चिनी कारखाना वीरगन्ज केन्द्रमा निजी विद्यालयमा अध्यापन गर्ने धमेन्द्र पाण्डे र रामबालक यादवलाई पनि निरीक्षक पदबाट हटाउन केन्द्राध्यक्षलाई निर्देशन दिइएको छ।


सुन्दरमल रामकुमार कन्या माध्यमिक विद्यालय, वीरगन्ज केन्द्रमा नियमितका परीक्षार्थीलाई ग्रेडवृद्धिको प्रश्नपत्र र ग्रेडवृद्धिका परीक्षार्थीलाई नियमितको प्रश्नपत्र वितरण गरिएको गम्भीर त्रुटि भेटिएको छ।


यस प्रकारको गल्ती पुनः नदोहोऱ्याउन निर्देशन दिइएको छ। साथै, प्रश्नपत्र वितरण लगायत व्यवस्थापनमा स्थानीय तहका शिक्षा शाखा प्रमुखलाई समेत संलग्न गरिने निर्णय भएको छ।


बैठकले सबै परीक्षा केन्द्रमा परीक्षा सुरु हुनु २० मिनेटअघि मात्रै प्रश्नपत्र खोल्ने व्यवस्था गर्न स्पष्ट निर्देशन दिएको छ, जसबाट प्रश्नपत्र चुहावटलगायतका जोखिम न्यूनीकरण गर्ने लक्ष्य लिइएको हो।

post bottom ads

Ads Bottom