चैत ३, वैदेशिक रोजगारीका लागि अल्बानिया पठाइदिने भन्दै आकर्षक तलबको प्रलोभन देखाएर रकम ठगी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन्।
खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–४ घर भई हाल काठमाडौँ बुढानिलकण्ठ नगरपालिका–१० बसोबास गर्दै आएका ३४ वर्षीय युवराज घिमिरेलाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो।
उनले अल्बानिया पठाइदिन्छु भन्दै एक व्यक्तिसँग १ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएको पीडितको उजुरीका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको टोलीले उनलाई काठमाडौँ महानगरपालिका–१२ स्थित टेकुबाट पक्राउ गरेको हो।
घिमिरेलाई थप अनुसन्धान र कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचाल काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ।





