नुवाकोट, चैत २ — नुवाकोटको विदुर नगरपालिका–६ स्थित सिंचाइ पुल नजिकै मोटरसाइकल दुर्घटना हुँदा एक युवकको ज्यान गएको छ। तारकेश्वर गाउँपालिका–१ दाङसिङका ३२ वर्षीय चतुरमान तामाङको शुक्रबार बेलुकी उक्त दुर्घटनामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।
बा ४६ प ८२५३ नम्बरको मोटरसाइकल चढेका तामाङ बट्टारबाट दाङसिङतर्फ जाँदै गर्दा त्रिशूली नदी किनारमा रहेको सिंचाइको पुल नजिकै मोटरसाइकल विद्युतको पोलमा ठोक्किँदा दुर्घटना भएको हो।
दुर्घटनामा गम्भीर घाइते भएका तामाङलाई तुरुन्तै त्रिशूली अस्पतालमा उपचारका लागि लगिएको थियो। तर, उपचारकै क्रममा उनको ज्यान गएको प्रहरी निरीक्षक श्रीकृष्ण वानियाले जानकारी दिनुभयो। प्रारम्भिक अनुसन्धानअनुसार मोटरसाइकलको तिव्र गति दुर्घटनाको कारण हुन सक्ने अनुमान गरिएको छ।
तामाङको शव हाल त्रिशूली अस्पतालमै राखिएको छ भने घटनासम्बन्धी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।





