![]() |
| खुला चौरमा बसेर पढ्दै विद्यार्थी, तस्विर : गोरखापत्र |
डोटी, चैत ९ — डोटीको पूर्विचौकी गाउँपालिका–५ स्थित नव प्रभात आधारभूत विद्यालयका विद्यार्थीहरू वर्षौंदेखि खुला चौरमै पढ्न बाध्य छन्। विद्यालयमा कक्षा कोठाको अभाव भएपछि विद्यार्थीहरूलाई नजिकै रहेको मालिका मन्दिरको प्रांगणमा पठन–पाठन गराउनु परिरहेको विद्यालयका प्रधानाध्यापक सिद्धराज जोशीले जानकारी दिनुभयो।
२०४५ सालमा स्थापना भएको विद्यालयमा हाल ९२ जना विद्यार्थी अध्ययनरत छन्। बाल विकासदेखि कक्षा ५ सम्मको पढाइ सञ्चालन भइरहे पनि आवश्यक मात्रामा भवन नहुँदा शैक्षिक गतिविधि नियमित रुपमा सञ्चालन गर्न कठिन भइरहेको छ।
२०७९ साल कात्तिक २३ गते आएको भूकम्पले विद्यालयको संरचनामा थप क्षति पुर्याएको थियो। त्यसयता झन् समस्या बढ्दै गएको प्रधानाध्यापक जोशीले बताउनुभयो। “जाडोमा खुलेको आकासमुनि चिसो अत्याधिक हुन्छ, गर्मीमा घामले सताउँछ भने वर्षामा कोठा चुहिन्छ, कहिलेकाहीँ त पढाइ नै रोक्नु पर्ने अवस्था आउँछ,” उहाँले भन्नुभयो।
स्थानीय बालबालिका शिक्षा पाउने प्राकृतिक अधिकारबाट वञ्चित हुन थालेपछि अभिभावकहरूमा पनि चिन्ता बढेको छ। विद्यालय व्यवस्थापन समितिले पटकपटक सरोकारवाला निकायमा आग्रह गर्दा पनि समाधान नआएको गुनासो गर्दै स्थायी समाधानको माग गरिएको छ।





