चैत १२, सुर्खेतबाट कालीकोटको नरहरिनाथ-३ डाडामाडु जाँदै गरेको बोलेरो जिप दुर्घटनामा पर्दा ८ जना घाइते भएका छन्। मंगलबार साँझ करिब ५:४० बजे कर्णाली प्रदेश ०२००२ च ०७०७ नम्बरको उक्त गाडी नरहरिनाथ-३, कुमालगाउँस्थित इलाका प्रहरी कार्यालयको पछाडि झन्डै २० मिटर तल खसेको थियो।
प्रहरीका अनुसार, गाडी ब्याक गर्ने क्रममा नियन्त्रण गुमाउँदा दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। कालीकोटका प्रहरी प्रमुख डीएसपी टेकबहादुर रावतका अनुसार गाडी पूर्ण रूपमा क्षतिग्रस्त भएको छ।
दुर्घटनामा नरहरिनाथ-३ निवासी २० वर्षीय राजेन्द्र विष्ट, २९ वर्षीय अनिलकुमार बुढा, ३५ वर्षीया विष्णु विष्ट, ४० वर्षीय दानबहादुर सहकारी, २८ वर्षीय गणेश आचार्य, ३५ वर्षीय अम्मरबहादुर विष्ट, नरहरिनाथ-५ रुप्साकी ४० वर्षीया देवी सहकारी र दैलेखका २४ वर्षीय चालक जगत बिक घाइते भएका छन्।
घाइतेहरूको हाल कुमालगाउँस्थित योगी नरहरिनाथ आधारभूत अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।





