Breaking Posts

Type Here to Get Search Results !

चोरी भएका २० वटा दुईपाङ्ग्रे सवारीसाधन धनीलाई हस्तान्तरण - Brighter Network

Top Post Ad


काठमाडौं, चैत २६ — काठमाडौं उपत्यकाको विभिन्न स्थानबाट चोरी भएका २० वटा दुईपाङ्ग्रे सवारीसाधन (मोटरसाइकल र स्कुटर) ट्राफिक प्रहरीले फेला पारी सम्बन्धित धनीलाई मंगलबार हस्तान्तरण गरेको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक दीपक गिरीले १३ वटा मोटरसाइकल र ७ वटा स्कुटर सम्बन्धित धनीलाई जिम्मा दिएका हुन्।


ट्राफिक प्रहरीका अनुसार काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा परेका निवेदनहरूका आधारमा खोजतलास गर्दा ती सवारीसाधन केही वास्तविक नम्बर प्लेटमा र केही नक्कली नम्बर प्लेटसहित फेला परेका थिए। ती सवारीसाधन काठमाडौं उपत्यकाको जगाती, चुनदेवी, बानेश्वर, गौरीघाट, मंगलबजार, इमाडोल, लुभु, सोह्रखुट्टे, कलंकी, नयाँ बसपार्क, बाफल, थली, नेपालटार र मुलपानीलगायतका स्थानबाट बरामद गरिएका हुन्।


आज हस्तान्तरण गरिएका २० सवारीसाधनसहित ट्राफिक प्रहरीले चालु आर्थिक वर्षको साउनदेखि हालसम्म ३८६ वटा हराएका दुईपाङ्ग्रे सवारीसाधन सम्बन्धित धनीलाई जिम्मा लगाइसकेको छ। यस अवधिमा चोरीका ३७ वटा मोटरसाइकल तथा स्कुटरसहित चोरीमा संलग्न ५४ जनालाई आवश्यक कारबाहीका लागि सम्बन्धित प्रहरी कार्यालयमा बुझाइएको ट्राफिक प्रहरीले जनाएको छ।


गत आर्थिक वर्ष २०७९/८० मा ४९९ वटा र ०८०/८१ मा ४१७ वटा दुईपाङ्ग्रे सवारीसाधन खोजतलास गरी ट्राफिक प्रहरीले धनीलाई जिम्मा लगाइसकेको छ।


कार्यक्रममा सवारीधनीहरूले आफ्नो हराएको सवारीसाधन फेला पारेर जिम्मा पाएपछि सामूहिक रूपमा ट्राफिक प्रहरीलाई धन्यवाद व्यक्त गरेका थिए।


यसै अवसरमा ट्राफिक प्रहरी कार्यालयका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेले सवारी चोरी तथा हराउने घटनाबाट बच्न सवारीसाधन सुरक्षित स्थानमा पार्क गर्न, ह्वील लक, चेन लक, ह्यान्डल लक, डिस्क लक र सुरक्षा साइरन जडान गर्न आग्रह गरे। साथै, एकान्त वा मानिसको आवतजावत नहुने स्थानमा सवारी पार्क नगर्न समेत अनुरोध गरे।


सवारीसाधन हराएमा ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३ वा नेपाल प्रहरीको हटलाइन १०० मा सम्पर्क गर्न तथा नजिकको प्रहरी कार्यालयमा निवेदन दिन सकिने जानकारी समेत दिइएको छ।

post bottom ads

Ads Bottom