पूर्वी नवलपरासी, चैत २७ — पूर्वी नवलपरासीको गैडाकोट नगरपालिका–१ स्थित नारायणी नदीमा डुबेर बेपत्ता भएका दुई बालबालिकाको शव बुधबार सशस्त्र प्रहरीको गोताखोर टोलीले फेला पारेको छ।
नुहाउने क्रममा मंगलबार नदीमा डुबेका १३ वर्षीया दिक्षा सेर्पुञ्जा र ९ वर्षीय स्वपनिल सेर्पुञ्जाको शव सशस्त्र प्रहरी बल नेपाल नं. १७ गण चितवनबाट खटिएको टोलीले गहिरो पानीबाट निकाल्न सफल भएको हो।
सशस्त्र प्रहरी सहायक निरीक्षक भूपबहादुर बढाथोकीको कमान्डमा परिचालित गोताखोर टोलीले बिहान ११:३० बजे ३५ फिट गहिराइबाट स्वपनिलको शव र दिउँसो १२:३० बजे ५० फिट गहिराइबाट दिक्षाको शव फेला पारेको सशस्त्र प्रहरीले जानकारी दिएको छ।
दुर्घटनास्थलको निरीक्षण तथा घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।





