Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

माइक्रोबस र स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु, १० घाइते - Brighter Network


वैशाख ७ गते, तनहुँ — डुम्रे–बेसीशहर सडकखण्ड अन्तर्गत तनहुँको भानु नगरपालिका–१०, नेपालीडाँडामा आइतबार भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्।


डुम्रेबाट लमजुङतर्फ जाँदै गरेको बा २ ख ४०२२ नम्बरको हाइस माइक्रोबसले विपरीत दिशाबाट आइरहेको ग २६ प ४०५८ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार लमजुङ बेसीशहर–८ की अन्दाजी ३५ वर्षीया अनिता थापा श्रेष्ठको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।


दुर्घटनामा माइक्रोमा सवार मनाङ नासों गाउँपालिका, ताचैस्थित जनविकास आधारभूत विद्यालयका प्रधानाध्यापक मन घले गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि सुन्दरबजारस्थित नमूना सामुदायिक अस्पताल लगिएको थियो, जहाँ उपचारका क्रममा उहाँको मृत्यु भएको हो।


प्रहरीका अनुसार, स्कुटर चालक सुरेश श्रेष्ठ (अन्दाजी ४० वर्ष, बेसीशहर निवासी) गम्भीर घाइते भएका छन्। उनको प्रारम्भिक उपचार भोटेवडार अस्पतालमा गरिएको थियो र हाल थप उपचारका लागि भरतपुर लगिएको छ।


दुर्घटनामा अन्य १० जना घाइते भएका छन्, जसमध्ये सात जनाको उपचार भोटेवडार अस्पतालमा भइरहेको छ भने तीन जनालाई गम्भीर अवस्थामा चितवन लगिएको प्रहरीले जनाएको छ।


घटनामा प्रयोग भएको माइक्रोबसका चालक भने फरार रहेका छन् र उनको खोजी भइरहेको छ। माइक्रोमा १७ जना यात्रु सवार थिए। घटनाबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरी निरीक्षक तथा सूचना अधिकारी राजकिशोर शाह तेलीले जानकारी दिनुभएको छ।

Top Post Ad

post bottom ads

Ads Bottom