रौतहट, चैत २७ — रौतहटको वृन्दावन नगरपालिका–१ स्थित आसन घाटमा मङ्गलबार नुहाउने क्रममा एक युवकको डुबेर मृत्यु भएको छ। मृत्यु हुनेमा सोही वडाको बल्लेरी टोल निवासी १८ वर्षीय अर्जुन प्रजा रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
प्रजाका दाइ सुदिप प्रजाका अनुसार अर्जुन नुहाउँदै गर्दा अत्यधिक गहिराइमा पुगेपछि उनको ज्यान गएको हो। घटनास्थलको गहिरो पानी र असुरक्षित खाल्डोले दुर्घटनाको जोखिम बढाएको स्थानीयवासीहरू बताउँछन्।
वृन्दावन नगरपालिकाका पूर्व नगरप्रमुख राम स्नेही यादवले बालुवा गिट्टी उत्खनन गर्दा मापदण्ड नपुर्याई ८ देखि १० फिटसम्म खाल्डो खनिएकोले जोखिम बढेको आरोप लगाउनुभयो।
त्यस्तै, स्थानीय सुबोध पटेलले उक्त क्षेत्रको बालुवा गिट्टी उत्खननको जिम्मा लिएको ठेकेदार कम्पनीको लापरवाहीकै कारण अर्जुन प्रजाको ज्यान गएको दाबी गर्दै सम्बन्धित कम्पनीमाथि कडा कारबाहीको माग गर्नुभएको छ।
प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ।





