बोलेरो दुर्घटना: चालकको मृत्यु, सहचालक गम्भीर घाइते
ताप्लेजुङ, वैशाख ३। ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–५ स्थित याङसिला चोकमा बोलेरो दुर्घटना हुँदा चालकको ज्यान गएको छ भने सहचालक गम्भीर घाइते भएका छन्।
दुर्घटनामा परी मृत्यु हुनेमा पाँचथरको फिदिम नगरपालिका–३ निवासी २५ वर्षीय सरोज श्रेष्ठ रहेका छन्। उक्त जानकारी जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) रवि रावलले दिनुभयो।
डिएसपी रावलका अनुसार लेलेपबाट तापेथोकतर्फ जाँदै गरेको मे.१च.५१९३ नम्बरको बोलेरो गाडी दिउँसो साढे १२ बजे दुर्घटनामा परेको हो। गाडी सडकबाट अनियन्त्रित भई दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ।
दुर्घटनामा फिदिमकै सहचालक सौजन श्रेष्ठ गम्भीर घाइते भएका छन्। उहाँको ढाडमा चोट लागेको बताइएको छ। प्राथमिक उपचार पश्चात उहाँलाई थप उपचारका लागि जिल्ला अस्पताल ताप्लेजुङ लगिँदैछ।
घटनास्थलमा थप अनुसन्धानका लागि प्रहरी निरीक्षकको नेतृत्वमा टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।





