चैत २९ – मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई नेपाल प्रहरीले झापाको भद्रपुरबाट पक्राउ गरेको छ। प्रहरी नायब महानिरीक्षक तथा केन्द्रीय प्रवक्ता दिनेश कुमार आचार्यका अनुसार प्रसाईँसँगै उनका अंगरक्षक दीपक खड्कालाई पनि नियन्त्रणमा लिइएको हो।
प्रहरीका अनुसार यही चैत १५ गते काठमाडौँको तीनकुनेमा पूर्वराजाका समर्थकहरूले गरेको प्रदर्शनमा हिंसा भड्काउन भूमिका खेलेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो।
प्रवक्ता आचार्यद्वारा जारी विज्ञप्तिमा उल्लेख अनुसार, प्रसाईँमाथि राज्यविरुद्ध गतिविधि र संगठित अपराधसम्बन्धी कसूरमा संलग्न भएको आशंकामा अनुसन्धान प्रक्रिया अघि बढाइएको छ। उनीहरूलाई थप अनुसन्धानका लागि काठमाडौं ल्याइँदैछ।
तीनकुनेमा भएको उक्त प्रदर्शनमा दुई जनाको मृत्यु भएपछि दुर्गा प्रसाईँ फरार रहेका थिए। प्रहरीले उनी फरार रहँदा पनि विभिन्न स्रोतबाट उनको खोजी गरिरहेको जनाएको थियो।





