नवलपुर, चैत ३० — विनयी खोलामा आएको बाढीले डाइभर्सन बगाएपछि नारायणघाट–बुटवल सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। यसअघि दाउन्नेमा हल्का वर्षा र बाक्लो धुलोका कारण सडकमा अवरोध भइरहेको बेला डाइभर्सन बगाउनु थप समस्या बनेको हो।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख, प्रहरी उपरीक्षक यादव ढकालका अनुसार, गत पुस २६ गते भारतीय हेभी ट्रक पास गर्ने क्रममा भाँचिएको विनयी खोलाको पुलको स्थानमा बनाइएको अस्थायी डाइभर्सन शुक्रबार बाढीले बगाएको हो।
डाइभर्सन नहुँदा नारायणघाट–बुटवल खण्डमा चल्ने सबै प्रकारका सवारी साधन पूर्ण रूपमा अवरुद्ध भएका छन्। अत्यावश्यक सवारी साधनलाई मात्रै वैकल्पिक रूपमा होङ्सी सिमेन्टको बाटो प्रयोग गर्न दिइएको ढकालले जानकारी दिनुभयो।
सडक अवरोध हुँदा यात्रुहरूले जङ्गल क्षेत्रमा पानी र खाद्यान्नको अभाव भोग्नुपरेको छ। त्यसैले प्रहरीले बस तथा मालवाहक ट्रकहरूलाई बजार क्षेत्रमा नै रोकेको छ।
ढकालका अनुसार, दाउन्नेमा सडक विस्तारको लागि दैनिक बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सवारी साधन रोकिने समयको सदुपयोग गर्दै सोही अवधिमा डाइभर्सन मर्मतको कार्य अघि बढाइनेछ।





